राज्यले शहीदलाई बिर्सिएको लोकतन्त्र दिवस

title
बुधबार, बैशाख ११, २०७६

शान्ता लम्साल
आज लोकतन्त्र दिवस । १९ दिने दोस्रो जनआन्दोलन २०६२/६३ को उपलब्धी प्राप्त ऐतिहासिक दिन । २५ जना नेपालीलाई गुमाएर आएको यो दिन पीडितका लागि पीडा दिने बाहेक अरु केही गर्न सकेको छैन । त्यसमा पनि सरकारले यो दिनको महत्वलाई उपहास गरेको हो कि भन्ने आवाज पनि सुनिन थालेका छन्

निरंकुश राजतन्त्रको विरोधमा आम नेपाली सडकमा उत्रिएर गरेको आन्दोलनले सफलता प्राप्त गरेको दिन वैशाख ११ नेपालीहरुले लोकतन्त्र दिवसका रुपमा मनाउने गरेका छन् । २०६२ चैत २४ गते २०६३ वैशाख ११सम्म चलेको १९ दिने आन्दोलनले २५ जना नेपाली वीरंगनालाई गुमायो । हजारौ नेपाली घाइते भए । भोलिको सुखद दिनका लागि लडेको १२ वर्ष पूरा भएपनि शहीद आन्दोलनले अन्तत. लोकतन्त्र ल्याउन त सफल भयो । तर लोकतन्त्र आएको १३ बर्ष बित्दा शहीदले देखेको सपना पूरा हुन सकेको छैन ।

देशको अग्रगामी परिवर्तनका लागि भन्दै सडक आन्दोलनमा उत्रिएका शहीदको सपनालाई अहिलेको नेतृत्वले कुल्चिएको आरोप जनताले लगाउन थालेका छन् । ज्यानको बलिदान दिएर देशको परिवर्तनको मुहार हेर्ने सपना बोकेका शहीदको सपना त पूरा हुन सकेन उनीहरुका नाममा बनाएका स्मारक पनि धुलोले टीठलाग्दा देखिएका छन् । देशका लागि आफ्नो सन्तान गुमेको भन्दै मन बहलाएका शहीदका परिवार पनि यतिबेला भावविह्वल बन्न थालेका छन् ।

के-के छन् शहीद परिवारका पीडा भिडियोमा हेर्नुहोस्

आम नेपालीको अधिकार रक्षाका लागि बुबा गुमाए पनि नेपालीले लोकतन्त्रको अनुभूति गर्न नसकेको र देशमा बढ्दै गएको अनियमितता र भ्रष्टाचारका कारण आफूलाई धेरै दुःख लागेको प्रद्युम्नका छोराको भनाई छ । देशका लागि बलिदान दिनेलाई बिर्सने राज्यबाट धेरै अपेक्षा गर्न सक्ने आधार नै नभएको शहीदका परिवारको भनाई छ ।

देशको परिवर्तनका लागि ज्यान गुमाउने शहीद राष्ट्रका अमूल्य नीधि हुन् । शहीदको उचित सम्मान हुनुपर्छ । लोकतन्त्र प्राप्तीका लागि जीवन आहुति दिने शहीदलाई झुल्नु शहीदको अपमानमात्र होइन आम नेपालीको मनोभावनामा पनि ठूलो चोट पु¥याउनु हो । यस तर्फ सरकार सचेत बन्नुपर्छ ।