रातभरिको बर्षापछि काठमाडौंका विभिन्न स्थान डुबानमा

title
बुधबार, साउन ३०, २०७५

काठमाडौं । गएराति परेको भीषण वर्षाका कारण काठमाडौंको नदी किनाराका बस्ती डुवानमा परेका छन् । बागमती नदीमा आएको बाढीका कारण काठमाडौंको तीनकुनेस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ। भने धोबी खोलामा आएको बाढीले अनामनगर, विजुलीबजार आसपासका बस्ती जलमग्न भएका हुन् ।

मंगलबार राति आएको भीषण वर्षाका कारण आएको बाढीले बागमती नदी किनारमा रहेका ३ सय ३० घर डुबानमा पारेको हो । घर तथा टहरामा चार पाँच फिटसम्म पानी जमेको बानेश्वर प्रहरी वृत्तले जानकारी दिएको छ।

स्थानीयका अनुसार, रातिको बर्षासँगै बागमतीमा ठूलो बाढी आएको थियो । अहिले बाढीको सतह घट्दै गएको छ । यसैबीच, अनामनगर र आसपासको क्षेत्र धोवीखोलाको बाढीले डुबानमा परेको छ। त्यस क्षेत्रका सयौं घर डुबानमा परेका छन् । दर्जनौ घरपरिवार विस्तापित भएका छन् । केही पसल समेत डुबानमा परेकाले लाखौं क्षति भएको व्यवसायीले बताएका छन् ।

खोलामा फोहोर फाल्ने, खोलामा जम्मा भएको फोहोर सफा नगर्ने कारण हरेक बर्ष धोवीखोलाको बाढीले आसपासको बस्ती डुबानमा पर्ने गर्छ । त्यस्तै बुढानिलकण्ठ नगरपालिका १३ नयाँबस्ती दोभानस्थित चियाने खोलामा रहेको कच्ची पुल आसपासको सुकुम्बासी बस्ती समेत डुबानमा परेको छ। २०÷२५ घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

बाढीबाट सिनामंगलमा रहेको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । कालोपुल आसपासको क्षेत्र र गुहेश्वरी क्षेत्र समेत डुबानमा परेको प्रहरीले जनाएको छ।