राप्रपा अध्यक्ष थापा सहित दर्जन बढी नेता कार्यकर्ता पक्राउ

title
शुक्रबार, बैशाख ६, २०७६

काठमाडौ । धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा काठमाडौंमा प्रहरीले हस्तक्षेप गरि राष्ट्रिय प्रजातन्त्र पार्टीका दर्जन बढी नेता कार्यकर्ता पक्राउ गरेको छ ।

काठमाडाँैको रत्नपार्कमा प्रहरीले प्रदर्शनमा सहभागी राप्रपाका १४ जना नेता कार्यकर्तालाई पक्राउ गरेको हो । प्रदर्शनका क्रममा धर्मनिरपेक्षको ब्यानरलाइ अध्यक्ष कमल थापाले जलाउनुभएको थियो । विरोधसभामा राप्रपाका केन्द्रीय सदस्य एवती कार्कीसहित १४ जना पक्राउ परेको राप्रपाले जनाएको छ ।

त्यसअघि रत्नपार्कमा आयोजित विरोध सभामा राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा विदेशी धर्म लाद्ने काम भएको बताउनुभयो । उहाँले सरकारको गलत व्यवहारका कारण नयाँ माओवादीको जन्म हुन खोजेको धारणा पनि राख्नुभयो ।

विभिन्न २२ बुँदे माग राखेर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको राप्रपाले घोषित विरोधका कार्यक्रम अन्तर्गत शुक्रबार धर्म निरपेक्षता लेखेको ब्यानर जलाएको हो । राप्रपाले आजै दाङसहित विभिन्न जिल्लामा पनि प्रदर्शन गरेको छ ।