(राप्रपा)बाट सरकारविरुद्ध आन्दोलनको घोषणा

title
आइतवार, फाल्गुन ५, २०७५

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्ने भएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले आज काठमाडौमा पत्रकार सम्मेलन गर्दै फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीलाई २२ बुँदे मागपत्र बुझाएर आन्दोलनको सुरुवात गर्ने बताउनुभयो । राप्रपाले काठमाडौं उपत्यका बाहिर पनि ७४ जिल्लामा प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रमुख जिल्ला अधिकारीलाई मागपत्र बुझाइने जनाएको छ । राप्रपाले आफ्ना माग सम्बोधनका लागि फागुन मसान्तसम्म प्रतीक्षा गर्ने पनि बताएको छ ।

फागुन मसान्तसम्ममा पनि माग सम्बोधन नभए मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रापछि देशव्यापी जनसंघर्षका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताउनुभयो ।

राप्रपाले बेरोजगार समस्या समाधानका लागि अल्पकालिन र दीर्घकालिन कार्यक्रम सञ्चालन हुनुपर्ने, बूढीगण्डकी परियोजनाको ठेक्का खारेज गरेर नेपालले नै निर्माण गर्नुपर्ने, एनसेल, ३३ किलो सुनकाण्ड, वाइडबडी विमान खरिदलगायत भ्रष्टाचारका घटनाको छानबिन हुनुपर्ने लगाएतका माग पनि अघि सारेको छ ।