‘रामकहानी’ले पूरा गर्ला त आकाश आशा ?

title
सोमवार, भदौ १८, २०७५

काठमाडौं । ‘म त तिम्रै हुँ’ बाट नेपाली रजतपटमा डेब्यू गरेका नायक आकाश श्रेष्ठको आगामी शुक्रबारबाट प्रर्दनमा आउन लागेको चलचित्र रामकहानीबाट दर्शकमाझ पुनः आउँदैछन् । हातमा फिल्म नटुटेपनि कुनै पनि चलचित्रमा उनले सफलता हात पार्न सकेका छैनन् । डेब्यु फिल्मपछि उनका दुई फिल्म प्रदर्शनमा आएका थिए । तर दुवै चलचित्रले बक्स अफिसमा दर्शकको साथ बटुल्न सकेनन् ।

चलचित्र ‘तिमीसँग’ मा अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधियो । हालै प्रदर्शनमा आएको फिल्म ‘ब्ल्याक’ मा उनको अपोजिटमा अभिनेत्री आँचल शर्मा थिइन् । तर, दुर्भाग्य ! दुवै फिल्मले बक्सअफिसमा सफलता बटुल्न सकेनन् । स्टार काष्ट हुँदा पनि उनी सफल हुन नसकेपछि अहिले उनी रामप्यारीबाट भने निकै आशावादी देखिएका छन् ।

तेस्रो फिल्म रिलिजको एक महिना पनि नबित्दै उनी अभिनित अर्को चलचित्र आगामी शुक्रबारबाट दर्शकमाझ आउँदै छ । सुदर्शन थापा निर्देशित फिल्ममा अभिनेत्री पूर्जा शर्मादेखि चर्चित हास्यकलाकार केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेललगायत प्रमुख भूमिकामा छन् ।

गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको उक्त फिल्मले घरेलू बजारमा सुखद नतिजा अपेक्षा पनि निर्माण पक्षलको छ । ‘रामकहानी’ को कहानी नै उनको वरिपरि घुमेका कारण यो फिल्मको सफलताले उनलाई ठूलो फाइदा हुने देखिन्छ । त्यसैले पनि उनका लागि यो चलचित्र अग्नि परीक्षाका रुपमा रहेको छ ।