रामकहानीसँग ‘रोजी’को भिडन्त

title
मङ्लबार, साउन २२, २०७५

काठमाडौं । नेपाली चलचित्रका निर्माताहरुले आफ्नो लगानीको कुनै पर्वाह नगरी चलचित्र चलाउन एकै मिति जुधाउने घटना नेपाली चलचित्र क्षेत्रका लागि नौलो रहने । एकै दिन ४–५ वटा चलचित्र प्रदर्शनमा आएको इतिहास पनि छ । पछिल्लो समय पनि चलचित्रले सोलो रिलिज नपमाएको अवस्था छ ।

यही बीचमा आगामी भदौ २२ गते पनि बीग बजेटका दुई चलचित्र प्रदर्शनमा आउने पक्का भएका छन् । यो मितिमा चलचित्र रामकहानी र चलचित्र रोजी प्रदर्शनमा आउने पक्का भएको हो ।

चलचित्र प्रदर्शनको मिति आउँन एक महिनाको पनि समय नरहेको अवस्थामा चलचित्रका निर्माताहरुले भने आफ्ना चलचित्रको प्रचार प्रसालाई तीव्र बनाएका छन् । प्रचार प्रसारकै क्रममा चलचित्र ‘रोजी’ युनिटले अफिसियल गीत सार्वजनिक भएको छ । ‘फूल हैन…’ बोलको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ । राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा प्रदीपका फेभरेट संगीतकार एलिस कार्कीले संगीत भरेका छन् । गीतको भिडियोमा प्रदीप र अभिनेत्री मिरुना मगर फिचर्ड छन् । यसमा दुवैको केमेस्ट्री मिलेको छ ।

टर्कीका पर्यटकीय थलो इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको गीतको भिडियोमा प्रदीपको गेटअप फरक देख्न सकिन्छ । उनको पोशाकले फिल्मप्रति कौतुहलता जगाउनेमा शंका छैन । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको लोकेशन र छायांकन पक्ष सुन्दर छ । प्रदीप ज्वाइन भएसँगै यस फिल्मका हरेक गतिविधिमा दर्शकको चासो थियो । ‘प्रेमगीत’ का सिरिज र ‘लिलिबिली’ को सफलतापछि उनको क्रेज निकै बढेको छ ।

महँगो पारिश्रमिक लिएर ‘रोजी’ मा अनुबन्ध भएका प्रदीपले यसमा क्रिमिनलको भूमिका निर्वाहा गरेका छन् । यसअघि सार्वजनिक भएको फिल्मको टिजरले पनि यो कुरालाई प्रष्ट पारिसकेको छ । अभिनेत्री परमिता आरएल राणाले उनको प्रेमिकाको भूमिका निर्वाहा गरेकी छन् ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय छ । उद्धव पौडेल यसका प्रस्तुतकर्ता हुन् । आयरा पौडेल र आरोही केसीको निर्माण रहेको ‘रोजी’ लाई राजु विक्रम थापाले खिचेका हुन् । चलचित्रका निर्देशक निरक पौडेल हुन् ।
छायांकन सकिएको छोटो समयमा नै प्रदर्शन मिति तय गरेर दर्शक भेट्न लागेको यस फिल्मको ‘रामकहानी’सँगको भिडन्तले निर्माण पक्षसामु ठूलो चुनौती खडा भएको छ ।

यता रामकहानी टोलीले पनि चलचित्रको प्रचार प्रसारलाई आक्रामक बनाएको छ । केही दिन अघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले पनि दर्शकको राम्रै साथ पाएको छ । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, वील्सन विक्रम राई लगायतको अभिनय रहको छ । प्रेमकथामा आधारित सफल फिल्मका लागि परिचित सुदर्शन थापा फिल्मका निर्देशक हुन् । गत वर्ष उनले बनाएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले वक्सअफिसमा राम्रै कारोबार गरेको थियो ।