राम्जा देउरालीका ५२ असिना पीडितलाई घरमै पुगेर जिल्ला प्रशासनले दियो एक लाख ९८ हजार

title
मङ्लबार, जेष्ठ २८, २०७६

पर्वत । असिनाबाट घरमा क्षति पुगेका पर्वतको मोदी गाउँपालिकाका पीडित परिवारलाई गाउँपािलकाले घरमै पुगेर राहत वितरण गरेएको छ । यही जेठ ९ गतेको असिनापानीले बालीनालीसँगै घरबास गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले आइतबार र सोमबार गाउँमै पुगेर राहत वितरण गरेको हो ।

मोदी गाउँपालिका–७ राम्जा देउरालीका ५२ पीडित परिवारलाई क्षतिको विवरणअनुसार रु एक लाख ९८ हजार वितरण गरिएको हो । असिनाले घरको छाना पूर्णरूपमा भत्किएका परिवारलाई रु छ हजार, आंशिक क्षति भएकालाई चार हजार र सामान्य क्षति भएकालाई रु दुई हजारका दरले वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार प्रभात लामिछानेले जानकारी दिए। उनका अनुसार १५ जनाको घरको छाना पूर्णरूपमा क्षति भएको छ भने १७ जनाको आंशिक क्षति पुगेको तथा २० जनाको धुरीमामात्र क्षति पुगेको पाइएको थियो।

जिल्ला प्रशासन कार्यालय पर्वतका लेखापाल यामनाथ पौडेल र खरिदार लामिछानेको टोलीले पीडित परिवारको घरघरमै पुगेर राहत वितरण गरेका हुन्। बालीनालीको क्षति भने सम्बन्धित स्थानीय तह र कृषि ज्ञान केन्द्र पर्वतले उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ ।

असिनाले घरको छाना बस्नै नहुने गरी छोडिदिएको र प्रशासनबाट थोरै भए पनि राहत पाउँदा खुुशी लागेको स्थानीयपीडित हुमबहादुर क्षेत्रीले बताउनुभयो। असिनाले जिल्लाका सातै स्थानीय तहका कृषक मारमा परेका छन्। व्यावसायिक रुपमा तरकारी खेती लगाएका कृषक, फलफूल, अन्नबाली र बीउबिजनमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ।

तरकारी पकेटअन्तर्गत झण्डै रु ५० लाखका टनेल नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ। असिनाका कारण तीन करोडभन्दा बढीको तरकारी र अन्नबाली नष्ट भएको  ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले जानकारी दिए। सबैभन्दा बढी मोदीमा र कुश्मा, फलेवास, महाशिला, र पैँयुमा नोक्सानी भएको छ।

जिल्लाका अन्य क्षेत्रका असिनापीडित परिवारलाई पनि राहत वितरणका लागि सिफारिस गरेर पठाइएको र बजेट निकासा हुने बित्तिकै वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले जानकारी दिए।  तरकारी र मकै बालीमा ७० प्रतिशतभन्दा बढी क्षति पुगेको बताइएको छ।