रारामा बिच भलिबल

title
शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं । रारा नेपाल भलिबल क्लबले मुगुको राराताल किनारमा राष्ट्रिय स्तरको बिच भलिबल प्रतियोगिता गर्ने भएको छ । सोमबारमात्र स्थापित क्लबले पहिलो बैठकबाटै आगामी वैशाखमा रारा किनारमा बिच भलिबल प्रतियोगिता गर्ने निर्णय गरेको जनाएको छ ।

भलिबलका अन्तराष्ट्रिय रेफ्री पूर्ण चौलागाईको नेतृत्वमा स्थापना भएको क्लबले बिच भलिबल प्रतियोगिता सफल पार्न प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी दिएको छ ।

भलिबल क्षेत्रमा काम गर्ने उद्देश्यसहित खोलेको क्लबले ‘टुरिजम फर भलिबल’ नारा सार्थक पार्न रारा किनारमा प्रतियोगिता गर्न लागेको अध्यक्ष चौलागाईंले बताए । पर्यटकीय क्षेत्र रारालाई विश्वसामु चिनाउन पहिलो बैठकबाटै रारामा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको  रेफ्री चौलागाई बताए ।

उनले आगामी दिनमा विभिन्न प्रतियोगितामार्फत् विदेशी टिमलाई सहभागी गराएर नेपालमा रहेका हरेक पर्यटन क्षेत्रमा यस्ता कार्यक्रमको आयोजना गर्ने योजना रहेको समेत जानकारी दिए ।

क्लबले नेपालभरका भलिबल प्रतियोगितामा सहभागिता जनाउने योजना बनाएको छ । गाउँमा गुुम्सिएर रहेका प्रतिभालाई बाहिर ल्याउनुुका साथै खेलाडीको पारिश्रमिकको व्यवस्था गर्न राज्यलाई दबाब सिर्जना गर्ने चौलागाईँले बताए ।