राष्ट्रपतिद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

title
बुधबार, कार्तिक १४, २०७५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–कतार व्यावसायिक मञ्चलाई सम्बोधन गरेकी छन् । कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई आग्रह गरेकी हुन् ।

नेपाल र कतारबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको र दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएकाले नेपाल र कतारबिच श्रम सम्बन्ध मात्र नभएर प्रविधि, लगानी, व्यापार तथा पर्यटन जस्ता आर्थिक कूटनीतिका विविध आयामहरूमा समेत राम्रो सम्बन्ध विस्तार भइरहेको राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कतार नेपाली श्रमिकहरूका लागि राम्रो श्रम गन्तव्यका रूपमा रहेको साथै, कतार नेपालबिच सीधा हवाई सम्पर्क र छोटो दूरीका कारण जनस्तरमा समेत राम्रो सम्पर्क रहेको बताइन् ।

यसबाट नेपाल कतारबिच आवागमन सहज हुनाका साथै अन्य मुलुकबाट आउने पर्यटकहरूको आवागमनमा पनि सहजता आउने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “नेपालमा राजनीतिक स्थिरता कायम भई देश समृद्धिको मार्गमा लागिसकेको कुरा व्यक्त गर्न पाउँदा मलाई गौरवानुभूति भएको छ । तीव्र गतिमा विकासलाई अगाडि बढाउनका लागि हामीलाई प्रविधि र वित्तीय स्रोतको आवश्यकता छ । तपाईं कतारका व्यवसायी र लगानीकर्ताहरूलाई म आह्वान गर्न चाहन्छु तपाईँहरू अब नेपालमा लगानी गर्न आउनुहोस् । यहाँहरूले प्रत्यक्ष वैदेशिक लगानी वा नेपाली लगानीकर्तासँग मिलेर संयुक्त लगानी पनि गर्नसक्नुहुन्छ ।”

उनले नेपालमा गरिने लगानीले उच्च प्रतिफल दिने र लगानीको प्रतिफल फिर्ताको ग्यारेण्टीसमेत नेपाल सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरिन् । त्यसैले ढुक्क भएर पर्यटन, ऊर्जा, कृषि, पूर्वाधार र उत्पादनमूलक उद्योग आदिमा लगानी गरी भरपुर फाइदा उठाउन कतारी लगानीकर्तालाई आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले कतारमा ठूलो सङ्ख्यामा नेपाली रहेका र उनीहरू राम्रोसित घुलमिल समेत भएकाले यस सम्बन्धलाई उपयोग गरी दुवै मुलुकको हितका लागि काम गर्ने अवसर आएको बताइन् ।