राष्ट्रपतिलाई १८ करोडको गाडि खरिद गर्ने निर्णयबारे बोल्यो सरकार–गणतन्त्रविरोधीले अफवाह फैलाए

title
बिहिबार, मंसिर ६, २०७५

काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपतिजस्ता सम्मानित संस्थालाई गाडी तथा कार्यालय व्यवस्थापनको विषयलाई लिएर नियोजित रुपमा अपमानित गर्न खोजिएको भन्दै सरकारले त्यसको खण्डन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी किन्न लागिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा समेत व्यापक विरोध भएपछि सरकारले त्यस बिषयको खण्डन गरेको हो ।

मन्त्रीपरिषद्को निर्णयबारे जानकारी दिन बिहीबार सञ्चारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले गाडी खरिदका बिषयमा राष्ट्रपतिमाथि लगाईएको आरोप निराधार भएको बताउनुभयो ।

प्रवक्ता बाँस्कोटाले १८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि भएको स्पष्ट पर्नुभयो । गणतन्त्रको जीवित संकेत नै राष्ट्रपति, उपराष्ट्रपति रहेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुले नकारात्मक प्रचार गरी स्थापित हुने क्रममा रहेका संस्थाहरुमा समस्या पार्न खोजिएको आरोप लगाउनुभयो । राष्ट्रपति र उपराष्ट्रपति कार्यालयबाट कुनै पनि माग नआएको दाबी गर्दे उहाले यो नितान्त सरकारको दायित्वको बिषय भएको स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले गत कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुभयो । बैठकले गत ०७१ साउन १७ गते गएको सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितको लागि संकलन गरिएको रकम फुकुवा गर्ने निर्णय गरेको छ । मंसिर ९ (नोभेम्बर २५) गते महिला हिंसा विरुद्धको दिवस मनाइने , ७ सय ५३ स्थानीय तहमा रोजगार केन्द्र स्थापना गर्ने निर्णय मन्त्रीपरिषले गरेको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो ।

रोजगार केन्द्र कार्यालयमा तत्कालका लागि एक जना अधिकृत रहने व्यवस्था गरिएको छ । त्यस्तै प्रवक्ता बास्कोटाले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने प्रस्ताव सरकारमा नआएको दाबी गर्नुभयो । राम–जानकी विवाह महोत्सवमा सहभागी आदित्यनाथ जनकपुर आउने चर्चा छ ।