राष्ट्रपति भण्डारी कतार जाँदै

title
सोमवार, कार्तिक १२, २०७५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारीको छिमेकी मुलुकहरुबाट नभई कतारबाट विदेश भ्रमण शुरु गर्नुभएको छ । आज बिहान १०ः४५ बजे राष्ट्रपति भण्डारी कतार प्रस्थान गर्नुहुनेछ ।

सोमबारबाट शुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको तीन दिने औपचारिक कतार भ्रमणलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणमा हुन लागेको राष्ट्रपतिको औपचारिक भ्रमणका क्रममा हुने समझदारी पनि बैठकले अनुमोदन गरेको छ । अर्थात्, यसपटकको भ्रमण दुई देशबीच केही नयाँ सम्बन्ध र सहयोगमा पनि केन्द्रित हुनेछ ।

कात्तिक १५ गतेसम्म हुने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर गर्नुहुनेछ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले कात्तिक १३ गते अमिरि दिवानमा कतारका अमिरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिको सम्मानमा कतारी अमिरले त्यसैदिन रात्रीभोजको आयोजना गर्ने छन् ।

राष्ट्रपति भण्डारीले कात्तिक १३ गते नै नेपालमा व्यापार र लगानीको अवसर विषयमा कतारका व्यापारिक समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि, यसैगरी राष्ट्रपति भण्डारीले दोहास्थित नेपाली दुतावास र त्यहाँ रहेका नेपाली समुदायसँग भेट्ने कार्यक्रम पनि तय गरिएको छ । राष्ट्रपति भण्डारी दोहा पुग्दा नेपाली राजदूत रमेशप्रसाद कोइरालाले दूतावासका तर्फबाट कात्तिक १२ गते रात्रीभोजको आयोजना गर्नेछन् ।