राष्ट्रपति भण्डारी चीन प्रस्थान, १९ गते फर्किने

title
बुधबार, बैशाख ११, २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकि छन् ।

चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा वैशाख ११ देखि १९ गतेसम्मका लागि राष्ट्रपति भण्डारी चीन प्रस्थान गरेकी हुन्।

राष्ट्रपति भण्डारीलाइ विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गरेका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुने कार्यक्रम रहेको छ  । राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपतिले सान्सी प्रान्तको राजधानी सियानसँगै चीनको स्वशासित क्षेत्रको राजधानी ल्हासाको समेत भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिले नेतृत्व गर्ने ५० सदस्यीय टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि छन् । राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।