राष्ट्रियसभाका संसदीय समिति सभापतिहरुको निर्वाचन भदौ १३ गते हुने

title
बिहिबार, साउन ३१, २०७५

काठमाडौ । राष्ट्रियसभाका संसदीय समिति सभापतिहरुको निर्वाचन कार्यतालिका हेरफेर भएको छ ।

बिहिवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कारणबस मिति हेरफेर गर्नुपरेको जानकारी दिनुभयो । यसअघि भाद्र तीन गतेका लागि तोकिएको संसदीय समितिहरुको निर्वाचन १३ गतेका लागि सारिएको छ । तीन गतेका लागि तोकिएको निर्वाचनका लागि सचिवालयले तालिकासमेत सार्वजनिक गरेको थियो ।

त्यसअघि बैठकको बिशेष समयमा बोल्दै सांसद अनिता देवकोटाले स्थानीय सरकारले जथाभावी रुपमा कर असुली गरेको भन्दै यसले जनतालाई थपभार परेको बताउनुभयो । त्यस्तै सांसद बिमला राई पौडेलले भूकम्पपीडित जनताको आवास निर्माण र बिद्यालय निर्माणमा सरकारको ध्यान नपुगेको गुनासो गर्नुभयो । सांसद रामप्रीत पासवानले राजधानीका सडकको जीर्ण अवस्था निर्माणमा तदारुकता नदेखाएको बताउनुभयो ।

बैठकमा राष्ट्रियसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अपराध पीडित संरक्षण विधेयक २०७५ पेस गरेका गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ ४ गते सोमबार बिहान ११ बजे बोलाईएको छ ।