राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका सभापति चयन

title
बुधबार, भदौ १३, २०७५

काठमाडौं । संघीय संसद राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ ।

सिंहदरबारमा आज बसेका ती समितिका बैठकबाट सभापतिहरुको निर्विरोध चयन भएको हो । विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा सभापतिमा चयन हुनभएको हो ।

नवनियुक्त सभापतिहरुले आजै पद तथा गोपनियताको सपथग्रण गरेका छन् । समिति सभापतिहरूलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले पद तथा गोपनियताको सपथ गराउनुभयो ।

सपथ पछि तीनवटै समितिका सभापतिहरुले संबिधान र नियमावलीले दिएको कार्यदेश अनुसार समितिलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने राष्ट्रियसभा सचिवालयले जानकारी दिएको छ ।

दिगो विकास तथा सुशासन समितिको सभापति नेपाली कांग्रेसलाई दिने सहमति भएको छ ।