राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्तीका विषयमा सरकारसँग जानकारी माग

title
मङ्लबार, अशोज ९, २०७५

काठमाडौं । संसद्को विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्तीका विषयमा सरकारसँग जानकारी माग गर्ने भएको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र भ्रष्टाचारका कुरा आइरहेका भन्दै यसबारे सरकारसँग जवाफ माग्नुपर्ने आवाज उठाएपछि समितिले यस विषयमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको हो ।

बैठकमा समिति सदस्यहरुले स्वार्थ बाझिने गरी ठेकेदारहरु समितिको सदस्य भएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिनिधिसभाको नियमावली विपरित स्वार्थ बाजिएका ब्यक्तिलाई समितिमा राखेको भन्दै केहि समिति सदस्यहरुले आपत्ति समेत जनाएका थिए ।

समिति सभापति कल्याणी खड्काले स्वार्थ बाझिने ब्यक्तिहरु समितिको सदस्य रहेपनि उनीहरुको स्वार्थमा निर्णय हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

समितिमा पप्पु कन्स्ट्रक्सनका हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा सदस्य हुनुहुन्छ ।

बैठकमा समितिको आन्तरिक कार्यविधि र भावी कार्यक्रमका बिषयमा सदस्यहरुले सुझाव दिएका थिए ।