रुँदै राजीनामा दिए कानूनमन्त्री तामाङले

title
मङ्लबार, साउन ८, २०७५

काठमाडौँ । बंगलादेशमा अध्ययन गर्ने नेपाली छात्राहरुप्रति आपत्तिजनक अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले आफूले बोलेका शब्दहरुप्रति क्षमा माग्दै पदबाट राजीनामा दिनुभएको छ ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सामान्य कमीकमजोरीलाई मूल विषय बनाएर दुष्प्रचार गरिएको भन्दै दुख प्रकट गर्नुभयो । निकै भावुक हँुदै तामाङले निरन्तर नेपाली नारीहरुको सम्मानमा अगाडि बढिरहेको भन्दै बिरोधीहरुले नारीकै विषयमा आफुलाई लखेटेको धारणा राख्नुभयो ।

श्रीमती उषा कला राईसहित पत्रकार सम्मेलनमा उपस्थित भएका तामाङले गरिब गाउँबाट हुर्केर जन्मेर जनताको सेवामा आएको भन्दै जीवन रहेसम्म जनताको सेवामा लागि नै रहने प्रतिवद्धता जनाउनुभयो । आजसम्म जीवनमा एक रुपैयाँ पनि भष्ट्राचार नगरेको भन्दै उहाँले आफू र आफ्नी पत्नी उषाकला राई संविधान सभामा महिला अधिकारका लागि कानुन बनाउन निरन्तर लागेको दाबी समेत गर्नुभयो ।

बंगलादेशमा डाक्टर पढ्न गएका छात्राहरु शरीर बेचेर मात्र सर्टिफिकेट ल्याउँछन् भन्ने अभिव्यक्ति दिएपछि विवादित बनेका तामाङले पार्टीको निर्देशनपछि राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा उहाँले ४ महिनामा मौलिक हक कार्यान्वयन गर्ने सन्दर्भमा चाहिने सम्पुर्ण कानुनहरु निर्माण गरेको बताउनुभयो ।