रेखाको ‘मालिका’लाई थपियो चुनौती

title
बिहिबार, कार्तिक १५, २०७५

काठमाडौं । नेपाली चलचित्रमा महिला निर्माताले निर्माण गरेको चलचित्र खासै प्रभावकारी हुन नसकेतापनि निर्मात्री रेखा थापाको अवतरण भने सहज हुँदै आएको पाइन्थ्यो । एकताका नेपाली चलचित्र क्षेत्रमा उनकै दबदबा थियो । उनको अभिनय रहेका हरेक चलचित्रले उल्लेख्य दर्शक पाउँथे ।

दर्शक मात्र नभएर हल सञ्चालक पनि रेखाको चलचित्र भने पछि अरु प्रदर्शन भइरहका चलचित्र समेत उतार्ने गर्दथ्ये । त्यतिमात्र नभएर उनी सहजरुमा सोलो रिलिजको अवस्थामा पनि पाउने गर्थिन् । तर अव अवस्था त्यस्तो रहेन । एक पछि अर्को गर्दै चलचित्रमा नयाँ अनुहारहरु स्थापित हुन थाले भने पुरानाहरुको स्टारडम एकाएक खस्किन थाल्यो । अभिनेत्री तथा निर्मात्री रेखाको हकमा पनि यस्तै भयो । उनले निर्माण गरेका चलचित्रहरु पनि बक्स अफिसमा ओरालो लाग्न थाले । तर पनि उनी चलचित्रबाट टाढा भएकी छैनन् र हिम्मत पनि हारेकी छैनन् । फरक यत्ति हो उनी चले पनि नचले निरन्तर चलचित्रमा देखिँदै आएकी छिन् ।

सोलो रिलिज पाउन नसके पनि आफ्नो चलचित्र दर्शकका लागि खास हुने दाबी गर्दै आएकी छिन् । तर दर्शक चलचित्र हेर्नका लागि सिनमा हलमा आउनका लागि चलचित्र नै आफैमा बलियो हुनुपर्छ भन्ने कैयौं उदाहरण छन् । भावना र स्क्याण्डलले चलचित्र चल्ने कदापि होइन । यथार्थ भन्नुपर्दा चलचित्रमा दम हुनैपर्छ । कुन चलचित्र सफल हुन्छ या असफल भन्ने छनक रिलिज अगावै छाडिएका प्रोम, गीत र फष्ट लुकबाटै संकेत मिल्छ । यसअर्थ रेखाको पछिल्लो चलचित्र ‘मालिका’ले बक्स अफिसमा कस्तो व्यापार गर्ला सहजै अनुमान लगाउन सकिन्छ ।

यतिबेला अभिनेत्री तथा निमात्री थापा आफ्नो पछिल्लो चलचित्र ‘मालिका’को प्रचार प्रसारमा व्यस्त छिन् । त्यसो त विगतमा चलचित्रबाट सफलता बटुल्दै आएकी अभिनेत्री रेखाको यतिबेला सहज अवतरण भने देखिदैन । यही मितिमा निर्देशक माधव वाग्लेको चंगा चेट पनि प्रदर्शनमा आउँदै छ ।

त्यतिमात्र नभएर घटस्थापनाबाट रिलिज भएको दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा–३’ले अझै राम्रो व्यापारका साथै बहुसँख्यक सिनेमा हलमा प्रदर्शन भइरहेका कारण पनि रेखालाई थप चुनौती छ । यस्तै गएको फुलपातीबाट रिलिज भएको अशोक शर्माको चलचित्र ‘जय भोले’को व्यापार पनि अझै राम्रो छ । यो फिल्म पनि तिहारसम्म मुलुकका करिब पाँच दर्जन सिनेमा हलमा रहने देखिन्छ । यस्तो अवस्थामा मालिकाको सहज अवतरण असहज बनेको हो भने नायिका रेखा थापा चेपुवामा परेकी छिन् ।

प्रदर्शनीको हिसावले उनको फिल्म ‘मालिका’ यस पटक सफल फिल्महरुको चेपुवामा परेको छ । चलचित्र ‘मालिका’मा रेखा आफैं निर्माता निर्देशक र नायिकाको रुपमा छिन् । विभिन्न गैर सरकारी संस्थाले मुद्दा बनाउँदै आएको बाल विवाह बिरुद्धको आवाज यो फिल्मबाट उनले उठाएकी छिन् । विषय सन्दर्भिक भए पनि प्रदर्शनीको हिसावले मालिका चेपुवामा परेको छ ।

यस्तो अवस्थामा रेखालाई मात्र नभएर माधव वाग्लेलाई पनि उत्तिकै चुनौती छ । चलचित्र रामप्यारीपछि रेखा मालिकाबाट दर्शकमाझ आउँन लागेकी हुन् । त्यसभन्दा अगाडि अर्थात छवी ओझाको व्यानरबाट बाहिरिएसँगै उनको यात्रा क्रमशः ओरालो लाग्यो । चलचित्र हिम्मतवाली, रामप्यारी लगायतका बाहिरी व्यानरका केही चलचित्रले सिंगल थिएटरमा समेत आशालाग्दो दर्शक पाउन सकेनन् । पछिल्लो पटक उनले बनिरहेका चलचित्रभन्दा फरक वृत्तचित्र शैलीमा चलचित्र निर्माण गरेकी छिन्–मालिका । जुन चलचित्रको मुख्य विषयवस्तु भनेको नारी वेदनाकै रहेको बुझिएको छ ।

बालविवाह विरुद्धको अवाज उठाउने यो चलचित्रको विषयवस्तु रेखा थापाले नयाँ भनिरहँदा दर्शकका लागि भने पुरानै कथावस्तु लाग्ने निश्चित छ । किनकी सामाजिक कथावस्तु तथा नारी वेदनाका निकै नेपाली चलचित्र निर्माण भइसकेका छन् । त्यस्ता चलचित्रले च्यारिटीमा वाहवाही पाउने भए पनि बक्स अफिसमा दमदार नदेखिने गरेको विगत छ । बालविवाह तथा दाइजोप्रथा विरुद्धको कथाबस्तु समेटिएको मालिकालाई लिएर रेखा थापा स्वयम् उत्साहित देखिन्छन् । तर, पछिल्ला केही वर्षयता रेखाद्वारा निर्मित र अभिनित सिनेमाले राम्रो व्यापार गर्न नसकिरहेका बेला मालिकाले दर्शकको कस्तो साथ पाउने हो त्यो भने हेर्न बाँकी छ ।