लगातारको वर्षा र हिमपातपछि आज मौसम सफा

title
आइतवार, माघ २७, २०७५

काठमाण्डौ–केहीदिनदेखि भैरहेको लगातार वर्षा र हिमपातपछि आज मौसम सफा भएको छ । आज काठमाण्डौसहित देशका धेरैजसो भूभागमा घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मौसमविद्का अनुसार पश्चिमी भेगमा भने आज पनि आंशिक बदलीको सम्भावना रहेको छ । गएको बुधबार भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा हटेको भए पनि पश्चिमबाट फेरि आउन लागेको अर्को पानी पार्ने प्रणालीका कारण पश्चिमको मौसममा आंशिक बदली हुने देखिन्छ ।

भोलीदेखी फेरि देशभरको मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
वर्षा र हिमपातका कारण जनजीवनसमेत प्रभावित भएको थियो ।

काठमाण्डौ वरिपरीका चन्द्रागिरि, फुल्चोकी, नगरकोट, शिवपुरी, तारेभिरलगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको थियो ।