
काठमाडौं। मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् सोमबार ४ अर्ब ४३ करोडको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब २० करोडको शेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७७ करोड रुपैयाँ वृद्धि भएको हो। आज ३१२ वटा धितोपत्रको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको हो। मंगलबार १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटाको घटेको छ। यस्तै छ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन तीन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ। आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतका दरले बढेको छ। यस्तै, सपोर्ट माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य तीन हजार ६२३ रुपैयाँ ६० पैसामा झरेको छ। दोस्रोमा जानकी फाइनान्सको मूल्य ८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९०८ रुपैयाँ कायम भएको छ।
मंगलबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९०८ रुपैयाँमा २० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जोशी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५११ रुपैयाँ ४० पैसामा १९ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले बढेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ।