ललितपुरस्थित भिमसेन मन्दिरको पुनर्निर्माण सूरु

title
सोमवार, माघ ७, २०७५

ललितपुर । भूकम्पले क्षतिग्रस्त ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भिमसेन मन्दिरको पुनर्निर्माणको काम सुरु भएको छ । भूकम्पले क्षति पु¥याएको ३ वर्ष ९ महिना बित्दा पनि सरकारले मन्दिरको पुनर्निर्माण सुरु नगरेपछि ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा आजबाट पुनर्निर्माणको काम सुरु गरेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मन्दिर पुनर्निर्माणको कामको सुरुवात गर्दै आवश्यक सबै खाले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो । मन्दिरको पुनर्निर्माण नेपाल सरकारको आग्रहमा भारतीय दुतावासले गर्ने योजना तय गरिएको थियो ।

तर भारतीय दुतावासले काम अघि नबढाएपछि स्थानीयबासी आफैं मन्दिर बनाउन अग्रसर भएका हुन । भिमसेन मन्दिरको पुनर्निर्माणका लागि ललितपुर उद्योग वाणिज्य संघले ‘आफ्नो सम्पदा आफैं निर्माण गरौं’ भन्ने अभियान चलाएको छ । स्थानीय जनताको सहयोगमा मन्दिर पुनर्निर्माण कार्य सुरु गरिएको संघका अध्यक्ष एवं मन्दिर पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनले जानकारी दिनु भयो । संघले मन्दिर पुनर्निर्माणका लागि १० लाख नगद हस्तान्तरण गरिसकेको छ । अब स्थानीय व्यापारीहरुसँग चन्दा संकलन गरेर भएपनि मन्दिर पुनर्निर्माणको काम सम्पन्न गर्ने संघका अध्यक्ष महर्जनले बताउनु भयो । दुई वर्ष भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको भिमसेन मन्दिर पुनर्निर्माणका लागि करिब ५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।