लाइनमा बस्नेले भोग्दैछन् पेट्रोल नपाउँदको पीडा तर निगम भन्छ– लाइन नबस्नूस्, तेल प्रशस्त छ !

title
आइतवार, अशोज ७, २०७५

काठमाडौं । राजधानीको पेट्रोल पम्पमा लागेको लाइन आइतबारदेखि पूर्ण रुपमा हट्ने भएको नेपाल आयल निगमले जनाएको छ । राजधानीको इन्धनको माग पूर्ति गर्न नेपाल आयल निगमले आइतबार करिब २० लाख लिटर पेट्रोलियम पदार्थ पम्पसम्म पुर्याउने भएको हो ।

निगमले आइतबार बिहानसम्म थानकोट डिपो आइपुगेको १२ लाख लिटर डिजेल र ८ लाख लिटर पेट्रोल राजधानीका पेट्रोल पम्प पुर्याउने भएको हो । यससँगै शनिबारदेखि कम भएको लाम आइतबारबाट पूर्णरुपमा हट्ने निगमको आकलन छ ।

यसअघि निगमले गत शुक्रबारदेखि नै मागभन्दा बढी आपूर्ति गरिरहेको छ । आवश्यकताभन्दा जोहो गर्नेगरी उपभोक्ताले इन्धन भर्न थालेपनि पम्पमा लागेको लाम कम गर्न निगमले केही दिन यता अत्यधिक मात्रामा तेल वितरण गरेको भएपनि पम्पमा लागेको लाइन भने कम भएको थियो ।

निगमसँग इन्धन भण्डारण पर्याप्त रहेको, निगमको निरन्तर दबाब र चालकको आन्दोलन फिर्तापछि ट्यांकर चालक तेल भर्न रक्सौल गइसकेको तथा इन्डियन आयल कर्पोरेसनले आइतबार पनि डिपो खुल्ला राखेको अवस्थामा भारतबाट तेल भर्न तथा आपूर्ति सहज बनाउन समस्या नरहेको निगमको भनाइ छ ।

बुधबार आवश्यकताभन्दा केही कम परिमाण तेल पम्पमा पुगेकाले बिहीबारको आपूर्ति असहज बनेको थियो तर, शुक्रबार उपभोक्ताले आवश्यकताभन्दा बढी तेल माग गर्दा पम्पमा लाइन लागेको थियो । जसका कारण निगमले तेल बाँड्न कोटा प्रणाली लागु गरेको थियो । शनिबार भने बिदाको दिन भएकाले पम्पमा खासै चाप देखिएको थिएन ।

निगमले शनिबार मात्र ८ लाख ५५ हजार लिटर पेट्रोल र ८ लाख ९५ हजार लिटर डिजेल पम्पसम्म पुर्याएको थियो । त्यसदिन डिपोसम्म आएको पेट्रोलको परिमाण ७ लाख २० हजार लिटर र डिजेलको परिमाण ४ लाख लिटर रहेको थियो ।

हाल निगमको थानकोट डिपोमा २५–२६ लाख लिटर पेट्रोल मौज्दात छ भने ४५ लाख लिटर डिजेल मौज्दात छ । यो क्षमताले उपत्यकाकको कम्तिमा ३ दिनको पेट्रोल र ६ दिनको डिजल माग पुर्ति गर्न सहज हुन्छ । काठमाडौंको माग दैनिक ६ लाख लिटर पेट्रोल र ५ लाख लिटर डिजेल हो ।