लागुऔषधसहित ५ जना पक्राउ

title
आइतवार, साउन २७, २०७५

चितवन । चितवन प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–३ न्यूरोडबाट पक्राउ परेका उनीहरुविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

पक्राउ पर्नेमा नवलपरासी जिल्ला गैँडाकोट नगरपालिका– १ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ, भरतपुर महानगरपालिका– ७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका वडा नं २ का २६ वर्षीय सलीम मियाँ र चितवन खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेका १९ वर्षीय अमृत आचार्य छन्। उनीहरुका साथबाट प्रहरीले डाइजेपाम, ११५ एम्पुल, ब्रुफिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाइट्राजेपाम एक हजार ५४५ ट्याबलेट, स्पास्मो प्रोक्सिभन, ४८ क्याप्सुल, फेन्सिडिल बरामद गरिएकाे छ ।

चितवनको नारायणगढस्थित न्यूरोडमा साउन २२ गते ना २४ प ११०० नंको मोटरसाइकल जाँच गर्दा लागुऔषधसहित किरण जिसी र बुद्धि गुरुङलाई पक्राउ गरिएको र उनीहरुको बयानका आधारमा लालकृष्ण ढकाल, सलीम मियाँ र अमृत आचार्यलाई नारायणगढबाट पक्राउ गरिएको हो। उनीहरु लागुऔषधको ओसारपसार, सञ्चय, बिक्री वितरण तथा सेवनमा समेत संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ ।