
काठमाडौं। सर्लाहीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित २ जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ११ का वर्ष २६ को मुकेश यादव र सोही ठाउँका वर्ष १९ को संजिव महतो रहेको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता इन्स्पेक्टर बलिष्टर सिंहले बताएका छन्।
पर्सा गाउँपालिका ६ मङराहा पोखरी स्थित हुलाकी सडक खण्डमा प्रहरी चौकी पर्साको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.४२ प ४२७० नं. को मोटरसाइकल चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागू औषध अनेरेक्स १०० मिलीको १७० फाईल र आरेजेस्केन १०० मिलिको २४ वटा बोतल गरी जम्मा १९४ बोतल बरामद गरिएको इन्स्पेक्टर सिंहले जानकारी दिएका छन्।
मोटरसाइकल चालक मुकेश र पछाडि सवार महतो समेतलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।