लुक्लामा विमान दुर्घटना, तीन जनाको मृत्यु

title
आइतवार, बैशाख १, २०७६

काठमाडौं– सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  हवाई जहाज र हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा समिट एयरका कोपाइलट सुदीप ढुंगाना, पर्यटक प्रहरी असई रामबहादुर खड्का र असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

प्रजिअ रानाका अनुसार आइतबार बिहान समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । हवाईजहाज चिप्लिएर अनियन्त्रित भइ हेलीप्याडसम्म पुगेर ठोक्किएको जनाइएको छ ।