
दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताएका हुन् ।
‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ’, उनले भने ।
‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नु पर्छ । उद्योग स्थापना र विस्तार गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ ।’
केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको बताउँदै कोही कसैले अरु कारणले विरोध गरेको उनले उल्लेख गरे ।
‘आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ’, उनले भने