लोक सेवा आयोगलाई दिईएको निर्देशनमा गल्ती भएकाले स्विकार गर्न सुझाव

title
शुक्रबार, असार २०, २०७६

काठमाडौ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य विजय सुब्बाले स्थानीय तहको कर्मचारी भर्नासम्बन्धि लोक सेवा आयोगलाई दिइएको निर्देशनमा गल्ती गरिएछ भनेर स्विकार गर्न सभापति शशी श्रेष्ठसँग माग गरे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद समेत रहनु भएका सुब्बाले आज(शुक्रवार) समितिको बैठकमा लोक सेवा आयोगले खुलाएको सो विज्ञापनमा के–के रहेछ ? भन्ने थाहा नभई लोक सेवा आयोगलाई निर्देशन दिएको पाइएको भन्दै गल्ती स्विकार गरेर अघि बढ्न समितिका सभापति श्रेष्ठसँग माग गरे ।

समितिले दिएको सो निर्देशन विपरित सर्वोच्च अदालतले विज्ञापन नरोक्न लोक सेवा आयोगलाई आदेश दिएपछि त्यो निर्देशन गलत थियो भनि स्विकार गर्न सुब्बाले समितिका सभापति श्रेष्ठलाई दवाव दिनु भएको हो । सांसद सुब्बाले समितिको निर्देशनप्रति असहमति जनाउनु भएको थियो ।

समितिको बैठकमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले लोक सेवा आयोगले हालसम्म खुलाएको खुला र समावेशी कोटाबारे जानकारी लिनुपर्ने बताउनु भएको थियो ।

सांसद बडुले लोक सेवा आयोगले खुलाएको विज्ञापन समावेशी भए÷नभएको पुनः आयोगसँग बुझ्नुपर्ने पनि बताए । बैठकमा समितिका सभापति शशी श्रेष्ठले पनि सो सम्बन्धमा लोक सेवा आयोगसँग पुनः छलफल गर्ने बताए ।