लोक सेवा विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध काठमाडौंमा प्रदर्शन

title
मङ्लबार, जेष्ठ २८, २०७६

काठमाडौं। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । संसदीय समितिले गरेको निर्णयविरुद्ध लोकसेवा तयारी तदर्थ संघर्ष समितिले आज(मङ्गलवार) बिहान विरोध प्रदर्शन गरेको थियो ।

सोमबार समितिले सरकारलाई स्थानीय तहका लागि लिइएकोे विज्ञापन रद्द गरेर करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो । विज्ञापन रद्द गर्ने निर्णयले सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकार कुण्ठित भएको आन्दोलनकारीले बताएका छन ।

सरकारले लोकसेवा आयोगमार्फत स्थानीय तहमा रिक्त दरबन्दी पूर्तिका लागि यही जेठ १५ गते ५ सय १५ स्थानीय तहमा नौ हजार १ सय ६१ पदका लागि विज्ञापन गरेको थियो । आयोगले विज्ञापन गरेपछि लाखौँ विद्यार्थी परीक्षाको तयारीमा थिए ।