लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ

title
सोमवार, चैत्र २५, २०७५

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउनेहरु फेरी सक्रिय भएको बताउनुभएको छ ।

आज प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गर्नुभएको हो । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उहाँले गुनासो गर्नुभयो । उहाँले गैरकानुनी भत्ता बुझेको भनेर लगाइएको आरोप निराधार भएको भन्दै राम्रो गरेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको प्रष्ट पार्नुभयो ।

वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको उहाँले बताउनुभयो । आफ्नाविरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको दावी गर्दै उहाँले त्यही तत्वले प्राधिकरणमा युनियनको चूनाव रोक्ने चलखेल गरेको पनि बाउनुभयो ।

प्राधिकरणको बोर्ड बैठकमा छलफलमा भएका कुरा बंग्याएर बाहिर ल्याउने गतिविधि बढेको भन्दै उहाँले विगतका एमडी र लोडसेडिङ गराउनेहरुले केहि व्यक्तिलाई परिचालित गरेको आरोप लगाउनुभयो ।