वडाध्यक्षले महिलामाथि दुर्व्यवहार गरेको अाराेप

title
सोमवार, साउन ७, २०७५

दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सूर्यप्रसाद डाँगीविरुद्ध स्थानीय महिलाहरूले अाफूमाथि दुर्व्यवहार गरेकाे अाराेप लगाएका छन् ।
स्थानीय ३८ वर्षीया विन्दु बुढाथोकी र ३६ वर्षीया मिना वलीले वडाध्यक्षविरूद्ध जस्पुर प्रहरी चौकीमा जाहेरी दिएको जस्पुर चौकीका प्रमुख नयाँराम कार्कीले जानकारी दिए ।
जाहेरीमा दुबै जना महिलाले शनिबार बेलुका वडा अध्यक्ष डाँगीले आफूहरूमाथि हातपात गरेको तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन् । दुवैजना महिलाले आइतबार जस्पुर प्रहरी चौकीमा मदिराले मातेका वडा अध्यक्षले आफूहरूमाथि झम्टिन आएको तथा हातपातको प्रयास गरेको हुँदा न्यायका लागि प्रहरीमा जाहेरी दिएको बताएका थिए ।
दुईजना महिलाले वडा अध्यक्षविरुद्ध जाहेरी दिएपछि प्रहरीले वडा अध्यक्ष डाँगीलाई झिकाएर उनीहरूका बीचमा छलफल गरेको छ । छलफलका क्रममा महिलाहरूले वडा अध्यक्षले हातपात गरेको दोषारोपण गरेका थिए भने वडाअध्यक्ष डाँगीले त्यसको बचाउ गरेका थिए । वडा अध्यक्ष डाँगीले षडयन्त्रपूर्वक आफूलाई फसाउन खोजेको बताएका छन् ।