वर्तमान सरकारले कानुन उल्लंघन गरेको काग्रेसको आरोप

title
बिहिबार, असार २१, २०७५

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले अघिल्ला सरकारका निर्णय बदर गरेर वर्तमान सरकारले कानुन उल्लंघन गरेको आरोप लगाएको छ ।

सरकारका पछिल्ला गतिविधिलाई लिएर पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्ला दुई निर्णयले सरकार स्वच्छेचारी ढंगले अघि बढ्न लागेको बताउनुभयो ।

प्रवक्ता शर्माले नियुक्ति खारेज प्रकरणमा कानुन उल्लंघन गरेको र निर्णय बदनियतपूर्ण रहेको तर्क गर्नुभयो । आचारसंहिता जारी भएको समयमा अघिल्ला सरकारले निर्वाचन आयोगबाट सहमति लिएर सम्बन्धित बोर्ड, संस्थानमा परिषद्को प्रक्रिया बमोजिम नियुक्तिका निर्णयहरु गरेको प्रवक्ता शर्माले प्रस्ट पार्नुभयो ।

सरकारको निर्णयबाट द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको समेत टिप्पणी गर्नुभयो । प्रवक्ता शर्माले समयमै सच्चिन सरकारलाई अपील गर्दै अन्यथा चौतर्फी दबाब सिर्जना गर्ने चेतावनी दिनुभयो ।

स्वेच्छाचारिताका विरुद्ध प्रदर्शन गर्न रोक लगाउने उद्देश्यले माइतिघर मण्डलामा सम्म लगाइएको निषेधाज्ञालाई निरंकुशतातर्फ बढ्न सहज हुने सरकारको मिठो भ्रमका रुपमा लिएको कांग्रेसको भनाई छ ।

कांग्रेसले यसअघिको सरकारले तयार गरेको चिकित्सा बिधेयक नै सदनमा पेश गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।