वर्तमान सरकारले जनताको आशा र भरोसालाई तोड्दैनः प्रधानमन्त्री ओली

title
बिहिबार, कार्तिक १, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको आशा र भरोसालाई नतोड्ने बताउनु भएको छ । जनताले गरेको विश्वासलाई आफूले घात गर्न नसक्ने भन्दै कांग्रेसले सरकारलाई असफल बनाउन नकारात्मक टिकाटिप्पणी गरिरहेको आरोप लगाउनुभयो ।

झापाको बिर्तामोडमा आज नेकपा झापाले गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले गरेको विश्वासलाई तलमाथी पर्न नदिने भन्दै देशलाई शुशासन र समृद्धिको बाटोमा अगाडी बढाउनु आफु कटिबद्ध रहेको जिकिर गर्नुभयो ।

अहिलेको सरकार धेरै संघर्ष पछि आएको बलियो सरकार भएकाले उहाँले जनप्रतिनिधहरुलाई समेत डटेर कुनैपनि ठाउँमा नचुकी कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले देश आर्थिक हिसाबले विपन्न भएकाले कृषि, पर्यटन, उद्योग तथा सम्भावनाका अन्य माध्यमबाट देशलाई आर्थिक समृद्ध बनाउन सबैलाई सहयोगको लागि अनुरोध समेत गर्नुभयो ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले भारत र नेपालको समान हैसियत राख्ने काम आफ्नो सरकारले गरेको समेत बताउनुभयो । आफ्नो सरकारले भारतसँग शीर ठाडो पारेर आफ्ना कुरा राख्नसक्ने वातावरण बनाएको प्रधानमन्त्री ओलीको दावी थियो ।