वर्षा ‘बकम्फुसे राजा’की रानी बन्न तयार !

title
सोमवार, भदौ २५, २०७५

काठमाडौं । अभिनेत्री बर्षा राउतले संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको सिनेमा बकम्फुसे राजामा काम गर्ने पक्का भएको छ । उनले चलचित्रका लागि सम्झौता पनि गरिसकेकी छिन् । २ हिरोइन र एक हिरोको यो सिनेमालाई कमेडी जनरामा बनाउन लागिएको छ ।

सिनेमाका लागि अभिनेत्री बर्षा सिवाकोटीलाई पनि अफर गरिएको छ । तर, बर्षा सिवाकोटीले सिनेमामा काम गर्ने वा नगर्ने बिषयमा केही पनि भनेकी छैनन् । बर्षा राउत भन्दा अगाडि बर्षा सिवाकोटीसँग कुरा चलेपनि उनले निर्णय लिन सकेकी छैनन् । बर्षा राउत फाइनल भएकाले पनि बर्षा सिवाकोटीले काम गर्ने कुरामा अझै दोधारे अवस्था छ । भारत र नेपालमा यो सिनेमाको छायांकन हुनेछ । असोज १ गते सिनेमाका कलाकारको घोषणा हुनेछ ।

बर्षा सिवाकोटी पनि चलचित्रमा अनुबन्धित होलान् भन्नेमा शंका नै छ किनकी नायिका वर्षा राउत र वर्षा सिवाकोटीको सम्बन्धका विषयमा पनि अनेकथरी हल्लाहरु बजारमा चलेका छन् । प्रतिस्पर्धी अभिनेत्री मानिने दुई बर्षाको दुई फिल्ममा भएको ‘इन र आउट’ को खेलले अहिले दुबैबीचको सम्बन्धमा चिसोपना रहेको स्पष्ट हुन्छ । फिल्म ‘मेरो पैसा खोई ?’ बाट यी दुई वर्षाबीच दुश्मनीको सुरुवात भएको थियो ।

अभिनेत्री राउतले उक्त फिल्म साइन गरेपछि अर्की अभिनेत्री सिवाकोटीले हात झिकेकी थिइन् । हालै ‘पशुपतिप्रसाद’ फेम्ड अभिनेत्रीले साइन गरेको फिल्म ‘गोपी’ छाडिन् । फिल्मबाट विदा भएको २४ घण्टामा उनकै ठाउँमा अभिनेत्री राउत भित्रिइन् । एक अन्तर्वार्तामा सिवाकोटीले आफूले फिल्म छाड्दा अरुले काम पाएको भन्दै राउतमाथि व्यंग्य गरेकी थिइन् ।

राउतले व्यंग्यको उत्तर ‘धन्यवाद’ मा फर्काइन् । यसरी उनीहरुबीच सांकेतिक प्रहार जारी रहेको अवस्था छ । सुवेदी फिल्मसको ब्यानरमा बन्ने कमेडी जनराको यस ‘बकम्फुसे राजा’ मा गणेश सुवेदीको लगानी रहनेछ । विष्णु कल्पितले खिच्ने फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत भर्नेछन् ।