वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी इन्द्रजात्रा मनाइयो

title
सोमवार, अशोज ८, २०७५

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी सोमबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाईएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

इन्द्रजात्रा पर्वका अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गरि दर्शन गर्नुभयो । राष्ट्रपतिले दर्शन गरी दक्षिणा चढाएपछि तीनै देवताको रथ वसन्तपुर र हनुमानढोका क्षेत्रका विभिन्न स्थानमा घुमाउने प्रचलन छ । त्यस्तै कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल , प्रधानन्यायधिश ओमप्रकाश मिश्र , मन्त्रीगण, संवैधानिक निकायका प्रमुखको वसन्तपुर डबलीमा उपस्थिति रहेको थियो ।

ईन्द्रजात्रामा बाजागाजा र लाखे नाचलगायतका मौलिक संस्कृतिको प्रदर्शन हेर्न उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटकको समेत उपस्थिति थियो । उपत्यकावासी जात्रा हेर्न आउने कारणले प्राचीनकालदेखि नै यस दिन उपत्यकामा सरकारी बिदा दिँदै आएकोे छ ।

प्राचीन किंवदन्तीअनुसार आफ्नी आमालाई वसुन्धराको व्रतनिम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई उपत्यकावासीले चोर भनी नियन्त्रणमा लिएर डोरीले पाताकसी बीच सडकमै जात्रा गरेको दिनका रुपमा इन्द्र्रजात्रा मनाउने गरिन्छ ।