वाइडबडी भ्रष्टाचार प्रकरण : महाप्रबन्धक कंसाकारलाई हदैसम्मको कारवाही गर्न लेखा समितिको निर्देशन

title
सोमवार, पुस २३, २०७५

काठमाडौ । सार्वजनिक लेखा समितिले वाईडवडी विमान खरिद अनियमिततामा मुख्य दोषी रहेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

समितिले तात्कालिन पर्यटन सचिव हालका गृह सचिव प्रेम कुमार राईलाई सफाई दिएको छ । यसअघि समिति अन्र्तगतको उपसमितिले विमान खरिद प्रक्रियाको सुरुवात राईबाट भएको भन्दै कारवाहीको सिफारिस गरेको थियो । प्रतिवदेनमाथिको छलफलको क्रममा राई संलग्न भएको भनिएको नेपाल वायुसेवा निगमबाट प्राप्त जानकारी नै गलत भेटिएपछि समितिले सचिव राईलाई कारवाहीको सिफारिस गर्नुपर्ने नदेखिएको भन्दै सफाई दिएको हो ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हालका सचिव कृष्ण प्रसाद देवकोटालाई विमान खरिद नियम संगत नभएको देखिएको अवस्थामा पनि अन्तिम किस्ता भुक्तानी गरेको भन्दै निलम्बन गरि अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरेको सम्बन्धमा थप छानविन गरि हदैसम्मको दण्डसंजाय गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

त्यसैगरी तत्कालिन पर्यटन सचिव शंकर प्रसाद अधिकारीलाई पनि हदै सम्मको दण्ड सँजायको निर्देशन दिईएको छ । मन्त्रीहरुको सवालमा भने समितिले अलि लचिलो हुँदै नैतिक जिम्मेवारी र कानुनसम्मत कारवाहीको निर्देशन गरेको छ ।