संसदीय समितिले वाइडबडी विमान खरीद प्रकरण अनियमितताको अध्ययन सुरु गर्याे

title
बिहिबार, अशोज ११, २०७५

काठमाडौं । नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा संसदीय समितिले अध्ययन गर्ने भएको छ ।

सिंहदरबारमा बिहिवार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने निर्णय गरेको हो । २४ अर्ब रुपैयाँ खर्च गरेर निगमले दुई वाइडबडी जहाज खरिद गरेको थियो ।

बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने समेत उनीहरुले बताएका थिए ।

बैठकमा हृदयेश त्रिपाठी, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, प्रेमबहादुर आले, लगायतले वाइडबडी विमान खरीद अनियमितता, बेरुजु फछ्र्योट, द्रुतमार्ग निर्माणलगायत विषयमा चासो व्यक्त गरेका थिए ।

महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । समितिको शुक्रबार बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजु बारे महालेखा परीक्षकसँग छलफल गर्ने समितिका सभापति भरतकुमार शाहले जानकारी दिनुभयो ।