वाइडवडी जहाज खरिद प्रकरणः खरिदका विषयमा राय पेश गर्न खरिद अनुगमन कार्यालयलाई लेखा समितिको निर्देशन

title
बुधबार, मंसिर १२, २०७५

काठमाडौँ । संसदीको सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक रामचन्द्र शर्मा, सचिव मधुप्रसाद रेग्मीलगायतसँग छलफल गर्दे वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न निर्देशन दिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीले वाइडबडी विमान खरिद ऐनअनुसार भए नभएको अध्ययन गर्न समय मागेपछि समितिले राय पेश सात दिनको म्याद पनि दिएको छ ।

बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधु प्रसाद रेग्मीले ब्राण्ड तोडेर टेण्डर आह्वान गर्नु, पुरानो जहाज किन्‍ने प्रक्रियाबाट नयाँ जहाज ल्याउनु ऐन अनुकुल नरहेको बताउनुभयो । सचिव रेग्मीले निगमले धेरै विषयमा आफूहरुसँग सहकार्य नगरेकाले निगमले गरेका सार्वजनिक खरिदका धेरै कामबारे जानकारी नभएको बताउनुभएको थियो । अब आफूहरुले खरिद प्रक्रियाको सबै तथ्य हेरिने र त्यस अनुसार राय दिने पनि उहाले बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले वाइडबडी खरिदमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग गर्नुपर्ने बताएका थिए । साथै उनीहरुले ब्राण्ड तोडेर टेण्डर आह्वान गर्नु नीतिगत भ्रष्टाचार भएको भन्दै यस बारेमा पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले अध्ययन गर्नुपर्ने धारणा राखेका थिए ।

सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गरिरहेको छ । यसअघि समितिले यस विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र महाप्रबन्धकसँग छलफल गरिसकेको छ ।