वातावरण प्रदूषण गराउने प्लास्टिकका झोला कहिले नियन्त्रण होला ?

title
मङ्लबार, बैशाख २४, २०७६

सिर्जना मिश्र । प्रदूषण नियन्त्रण गर्न भन्दै ३० माइक्रोनभन्दा साना प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको २ वर्ष पुग्नै लाग्यो । तर, यो घोषणा कार्यान्वयन हुन सकेको छैन । प्लास्टिकका झोला उत्पादन तथा वितरणको उचित अनुगमन हुन नसक्दा सरकारी घोषणा प्रभावकारी बन्न सकेको छैन ।

त्यसोत, झण्डै २ वर्ष अघि अर्थात २०७४ को साउन १ बाट ३० माइक्रोन भन्दा मुनिका प्लास्टिकका झोला प्रयोगमा लगाइएको प्रतिबन्ध कार्यान्वयन हुन सकेको छैन । मापदण्ड पूरा नभएका प्लास्टिकका झोला प्रयोग गर्नेलाई ५० हजारसम्मको जरिवाना गर्ने भन्दै थालिएको अभियानले केहिदिन राम्ररी चलेपनि अहिले यो योजना प्रभावविहीन बनेको छ ।

सरकारी निर्णयको विरोध गर्दै आन्दोलन गरेका व्यवसायीलाई घोषित योजना कार्यान्वयन नहुँदा भने फाइदै पुगेको छ। अहिले पनि बजारमा ३० माइक्रोनभन्दा साना धेरै प्लास्टिकका झोला खपत हुने गरेका छन् । नेपालको उत्पादनले नथेगेपछि यस्ता झोला भारत र चीनबाट पनि आयात गरिने गरेको व्यवसायी बताउँछन् ।

एक पटक प्रयोग गरिएका प्लास्टिकको पुनःप्रयोग गर्ने उपकरण र योजना नहुँदा समस्या बढेको नेपाल प्लास्टिक उत्पादक संघका अध्यक्ष शरद शर्मा बताउँछन् । अदालतले नै ३० माइक्रोनभन्दा कमका प्लास्टिकले मानवस्वास्थ्यमा असर पार्ने भन्दै त्यस्ता झोला प्रयोग नगर्न फैसला गरेको थियो ।

त्यसैलाई आधार बनाएर प्लास्टिक मुक्त अभियान घोषणा गरेको सरकारले कार्यान्वयनका लागि प्रभावकारी काम गर्न नसकेको स्वीकार गरेको छ । अब स्थानीय तहबाटै यो अभियान थालिने वन तथा वातावरण मन्त्रालय प्रवक्ता सिन्धुप्रसाद ढुंगाना बताउँछन् ।

मानव स्वास्थ्य र वातावरणसँग जोडिएको यो विषय महत्वपूर्ण छ । प्रदूषण कम गर्न थालिएको यो अभियानलाई सार्थक बनाउन आम सर्वसाधारणलाई पनि सचेत बनाउँदै काम गर्नु जरुरी छ ।