विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण

title
बिहिबार, अशोज ४, २०७५

काठमाडौं । सांसदहरुले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

सांसद कमलाकुमारी वलीले प्रदेश नं ७ को कैलालीको सुकुम्वासी गाउँमा विसं २०३६ मै लालपूर्जा पाए पनि अहिलेसम्म जग्गाको नापी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद खेमराज नेपालीले प्रदेश नं १ प्रवेश गर्ने सप्तकोशी नजिकको भण्डाबारीको पुल लामोसमयदेखि निर्माण हुन नसकेको भन्दै सो पुल तत्काल निर्माणका लागि पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा विधायन समितिका सभापति परशुराम मेघी गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रियसभाबाट प्रतिनिधित्व गर्ने चार मध्ये तीन सदस्यलाई मनोनयनसमेत गरेको छ ।

सांसद कालीबहादुर मल्ल, रामलखन चमार र राधेश्याम अधिकारीलाई सदस्यमा मनोनयन गरेको हो । राष्ट्रियसभाको अर्को बैठक असोज ७ गते बोलाईएको छ ।