विदेशमा ‘बाँध मायाले’को माग बढ्दो

title
आइतवार, भदौ ३१, २०७५

काठमाडौं । नेपाली चलचित्र अहिले नेपालमा मात्र प्रदर्शनमा आउँदैनन् । केही चलचित्र नेपालमा प्रदर्शन भएपछि विदेशमा प्रदर्शन गरिन्छन् भने केही चलचित्रको नेपाल रिलिज हुनु अगावै विदेशमा च्यारिटी तथा प्रियिर गरी नेपाली दर्शकमाझ ल्याइन्छन् । यसले नेपाली चलचित्र नेपामा मात्र सिमित छैनन् भन्ने प्रष्ट पारेको छ । यही मेसोमा आगामी असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रले विदेशबाट प्रदर्शन थालिसकेको छ ।

अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय रहेको चलचित्र ‘बाँध मायाले’ हालै अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन गरिएको हो । तीन शो प्रदर्शन भैसकेको यस फिल्मका थप शो अन्य शहरहरूमा पनि हुने निर्माण पक्षले जानकारी दिएको छ ।

‘हामीले अष्ट्रेलियामा रहनु भएका नेपाली फिल्मप्रेमी नेपालीलाई पुरानो या बासी नभई ताजा र नयाँ फिल्म पस्कने उद्देश्यले नै नेपालभन्दा अगाडि यहाँ प्रदर्शन गरेका हौँ’, फिल्मका सह–निर्माता महेन्द्र अधिकारी भने । सिड्नीबासी दर्शकहरूले विशेष गरेर नायिका सृष्टिको कामको खुलेर तारिफ गरेका छन् । नायक आर्यनको काम पनि निकै नै प्रसंशनीय रहेको सिड्नीमा रहेको नेपाली दर्शकले प्रतिक्रिया दिएका छन् । निर्देशक सबिर श्रेष्ठले पनि तारिफ पाएका छन् ।

राजराम पौडेल, विशाल चाम्लिंग र किशोर खड्काको पनि अभिनय रहेको ‘बाँध मायाले’ को हालसम्म अष्ट्रेलिया र अमेरिकामा शो सम्पन्न भैसकेका छन् । युके, जापान, कतार, दुबई, बहराइन लगायत देशमा पनि फिल्मको माग भैरहेको निर्माता समेत सबिर श्रेष्ठले बताए ।

गीतसंगीत र ट्रेलरबाट चर्चामा रहेको यो फिल्ममा पहिलो पटक सृष्टि र आर्यनले काम गरेका हुन् । रामहरि धिताल र बिभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा महेन्द्रसँगै केदार धिताल सह–निर्माताको रुपमा छन् ।