विद्यार्थीहरुका माझमा आर्यन र सृष्टि

title
सोमवार, अशोज १, २०७५

काठमाडौं । पछिल्लो समय चलचित्र प्रचार प्रसारका लागि निर्माता निर्देशक मात्र होइन नायक नायिकाले पनि निकै नै संघर्ष गर्ने गरेका छन् । आफ्नो चलचित्र प्रदर्शनमा आउन केही दिनमात्रै बाँकी रहँदा चलचित्र निर्माण युनिटको व्यस्तता निकै बढ्ने गरेको छ ।

त्यो भन्दा पनि रोचक कुरा त निर्माण पक्षले चलचित्रको प्रमोसनका लागि गर्ने विभन्न फण्डा बढी हुन्छन् । केहीले कन्सर्टको साहरा लिन्छन्, कसैले टाइटल गीतको त कसैले पुरस्कारको व्यवस्था गरेर विभिन्न स्किमहरु सार्वजनिक गर्छन् ।

नेपाली चलचित्रको बजार सानो छ, एउटै मितिमा धेरै चलचित्र एकैसाथ प्रदर्शनमा ल्याइँदा पनि यस्ता फण्डाहरुले अर्थ नराख्ने गरेको स्पष्ट हुन्छ । यति हुँदा हुँदै पनि निर्माण पक्षले केही भइहाल्छ कि ? भन्ने सोचेर नै हुन सक्छ विभिन्न फण्डा सिर्जना गरेर चलचित्रको प्रदर्श अगावै दर्शकमाझ पुग्ने गरेका छन् ।

हालै एउटा चलचित्रको प्रमोसनका लागि नायिका श्रेष्ठ र नायक आर्यन अधिकारी काठमाडौंका विभन्न कलेज–कलेजमा पुग्ने गरेका छन् । असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’को प्रमोसनका लागि उनीहरुको व्यस्तता बढेको हो । गीतसंगीत र ट्रेलर रिलिजपछि चर्चामा रहेको यस फिल्मले अहिले आफ्नो प्रचारलाई तीव्र तुल्याएको हो ।

आइतबारबाट निर्माण टिमले कलेजका विद्यार्थी फकाउन शुरु गरेको छ । नायक आर्यन अधिकारी, नायिका सृष्टि श्रेष्ठ, निर्देशक सविर श्रेष्ठ, नव–नायक किशोर खड्का र फिल्मका कार्यकारी निर्माता केदार धितालको टोली कुमारी पाटीको मोलिस र मेघा कलेज पुगेको थियो ।

ती कलेजका विद्यार्थीहरुले फिल्मप्रति चासो राखेर प्रश्न गरेको निर्देशक सविरले बताए । आर्यन र सृष्टि कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भई अटोग्राफ र सेल्फी लिएका थिए । दर्शकलाई मन पर्ने फिल्म बनाएको भन्दै निर्देशक सविनले कलेका विद्यार्थीहरुलाई चलचित्र हलसम्म पुगेर हेरिदिन आग्रह गरे । सोमबार दर्जन बढी कलेजमा पुग्ने लक्ष्य निर्माण टिमको छ । निर्माता धितालले दर्शकले फिल्मप्रति देखाएको उत्सुकता अनि चासो तथा लिड अभिनेता अभिनेत्रीप्रतिको क्रेजले फिल्म सफलताको मिल्ने निर्माण पक्षको दाबी छ ।

चलचित्र ‘बाँध मायाले’मा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको पनि अभिनय छ । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । त्यसो त चलचित्रको प्रदर्शन नेपाल अगावै विदेशमा गरिसकिएको छ । अहिले नेपाली चलचित्रको बजार विस्तार भएको छ ।

केही चलचित्र नेपालमा प्रदर्शन पश्चात विदेश प्रदर्शनका लागि जान्छन् भने केही चलचित्र विदशेमा विशेष प्रदर्शनी, च्यारिटी गरेर मात्र नेपाली दर्शकमाझ आइपुग्छन् । ‘बाँध मायाले’ हालै अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन गरिएको हो । चलचित्र हेरेका अधिकांश दर्शकले नायिका सृष्टिको कामको खुलेर तारिफ गरेको निर्माण पक्षले बताएको छ । नायिका मात्र नभएर नायक र निर्देशकको पनि दर्शकले खुलेरै तारिफ गरेका छन् ।