विपि राजमार्ग पुनर्निर्माण गर्न जापानले १ अर्ब ८५ करोड दिने

title
बिहिबार, कार्तिक ८, २०७५

काठमाडौँ । जापान सरकारले भूकम्पबाट बिग्रिएको सिन्धुली सडक मर्मतसम्भार गर्न एक अर्ब ८५ करोड रुपैया अनुदान सहयोग उपलब्ध गराउने भएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो ।

पूर्वी तराइलाई काठमाडौँसँग जोड्ने एकसय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको थियो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो ।

आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थसचिव खनालले जानकारी दिनुभयो । सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकामा आभार व्यक्त गर्नभएको थियो ।

त्यस्तै राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पु¥याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सहयोग गरेको बताउनुभयो ।