विप्लवका नेताकार्यकर्तालाई चैत महिनाभित्र नियन्त्रणमा लिइसक्ने प्रधानमन्त्रीको दाबी

title
सोमवार, चैत्र ११, २०७५

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले विप्लव समूहका सबै नेताकार्यकर्ताहरुलाई चैत महिनाभित्र नियन्त्रणमा लिइसक्ने दाबी गर्नुभएको छ ।

संसद भवन नयाँ बानेश्वरमा आज(सोमवार) बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने प्रष्ट पार्नुभयो ।

उहाँले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लवसँग समय रहेको र मूलधारमा आउने मौका नछोड्न आग्रह गर्दै शान्तिपूर्ण तरिकाले मूलधारमा नआए जेलको बाटो समाउनुपर्ने धारणा समेत राख्नुभयो । पृथकताबादी नेता सीके राउतलाई मुलधारको राजनीतिमा ल्याएर विखण्डनबाद समाप्त भएको सांसदहरुलाई प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो ।

त्यस्तै उहाँले संघीय सांसदहरूलाई एकमहिनाभित्र सरकारलाई नीति र कार्यक्रमबारे सुझाव दिन निर्देशन पनि दिनुभयो । सरकार विकास र स्थायित्वमा गतिशील भइरहेको अवस्थामा केहीले कामै नभएको भन्ने टिप्पणी गरेको भन्दै ओलीले सांसदहरूलाई गाउँगाउँ गएर भ्रम चिर्न आग्रह गर्नुभएको थियो ।

पार्टी एकतको काम समयमै टुंग्याउन नसकेको भन्दै उहाँले नेकपाका अर्का अध्यक्ष दादाल आएलगत्तै पार्टी एकताको काम अघि बढ्ने र निष्कर्षमा पुग्ने बताउनुभयो ।