‘विप्लव’लाई जंगली राजा भन्दै सरकारका प्रवक्ताले भने-छुट दिन्नौं

title
बिहिबार, असार १९, २०७६

काठमाडौं– सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आन्दोलनरत नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई जंगली राजाको आरोप लगाउँदै राज गर्ने छुट नहुने चेतावनी दिएका छन् ।

बिहीबार सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः संगठित आतंकवादतर्फ उन्मुख रहेको भन्दै सरकारले जंगली राजलाई छुट नदिने चेतावनी दिए।

विप्लव समूह वार्तामा नआए उत्पन्न हुने क्षति उनीहरुले नै बेहोर्नु पर्ने बास्कोटाको भनाई छ । विप्लव समूह वार्ताबाट भागेको मन्त्री बास्कोटाले विप्लव समूहको हिंसा गरिरहने कार्य सरकार र नेपाली जनतालाई स्वीकार्य नभएको जिकिर गरे ।

रक्तपिपासु मानसिकता नेपाली समाजले अस्वीकार गरेको भन्दै मन्त्री बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई चेतावनी दिए ।