‘विप्लव’ का ९ जना नेता–कार्यकर्ता काभ्रेबाट पक्राउ

title
शनिबार, चैत्र ९, २०७५

काभ्रे । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष व्युरोले ओलीसहित ९ नेता कार्यकर्तालाई गए राति काभ्रेबाट ललितपुर आईरहेको अवस्थामा गाडी सहित नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार काभ्रेबाट बा १७ च ४८९३ नम्बरको जिपमा रहेका ओलीसहितका ९ नेता कार्यकर्तालाई काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ रहेका छन् ।

त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याईंदै छ । यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । ओली प्रहरीलाई छक्याउँदै भाग्न सफल भए पनि चार नेता कार्यकर्ता पक्राउ परेका थिए ।

सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने ओली सबैभन्दा उच्च तहका नेता हुन् । ओलीले सम्हालेको मध्यकमाण्ड अहिलेसम्म सबैभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ पर्ने क्षेत्र बनेको छ ।