विमानस्थलमा गोविन्दाले भने– ‘नेपाल प्रेम र साहसको धर्ती’

title
आइतवार, भदौ ३१, २०७५

काठमाडौं । बलिउड सुपरस्टार गोविन्दा नेपाल आइपुगेका छन् । आइतबार राजधानीमा हुने ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुनका लागि उनी छोरी टिना आहुजालाई साथ लिएर शनिबार बिहान नेपाल आएका हुन् ।

अवार्ड कार्यक्रम आइतबार राष्ट्रिय सभा गृहमा आयोजना हुँदैछ । अवार्ड समारोहमा गोविन्दाको विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । लाइफटाइम अवार्डबाट सम्मानित हुन् लागेका वरिष्ठ फिल्मकर्मी किशोर रानालाई गोविन्दाले अवार्ड प्रदान गर्नेछन् ।

अवार्ड आयोजक प्रमुख दिनेश डिसीका अनुसार, अभिनेता गोविन्दाको नेपाल बसाई शनिबारबाट तीन दिनको हुनेछ । अवार्ड समारोहमा उनले बरिष्ठ फिल्म निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट प्रदान गर्नेछन् ।

नेपाली भूमि टेकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीहरुलाई धन्यवाद दिए । उनले नेपाल बसाईको क्रममा सोमबार पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी हिल्स् पुग्नेछन् । अवार्ड कार्यक्रममा सहभागी हुनकै लागि गाविन्दाकी पत्नी सुनिता अहुजा र छोरा यसवर्धन अहुजा शुक्रबार नै नेपाल आएका थिए ।

सन् १९९० पछि गोविन्दा धेरै पटक नेपाल आइसकेका छन् । सन् २००९ मा काठमाडौं आएको बखत उनले भक्तपुरमा जग्गा किन्ने कुराले पनि ठूलो चर्चा पाएको थियो । अभिनेत्री मनिषा कोइरालाको विवाहमा पनि उनी नेपाल आएका थिए । गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् ।