दुर्घटनापछि ७३७ म्याक्स मोडलका जहाजको उडानमा रोक

title
बिहिबार, फाल्गुन ३०, २०७५

एजेन्सी । इथियोपियामा भएको विमान दुर्घटनापछि अमेरिकी विमान उत्पादक कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलका जहाजको उडानमा रोक लगाएको छ । बोइङले अर्को निर्णय नभएसम्मका लागि भनेर ७३७ म्याक्स मोडलका ३ सय ७१ वटा जहाजको उडान रोक्ने निर्णय गरेको हो । इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनामा पर्दा १५७ जनाको ज्यान गएको थियो ।

इथियोपिया दुर्घटनापछि विभिन्न देशले उक्त विमानका उडानमा रोक लगाउने निर्णय गरेका थिए । पछिल्लो समय अमेरिकाले समेत बोइङ ७३७ म्याक्स ८ र ९ का सबै विमानको उडानमा रोक लगाइदिएको थियो । अमेरिकाले ७० वटा विमानको उडानमा रोक लगाएपछि बोइङ तत्कालका लागि ७३७ म्याक्स मोडलका सबै विमानको उडान रोक्ने निर्णयमा पुगेको हो । बोइङ ७३७ विमानको व्यावसायिक प्रयोग २०१७ देखि शुरु भएको थियो ।