विवादास्पद कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधनः सरकारको लक्ष्य ‘सुखी नेपाली र समृद्ध नेपाल’

title
शनिबार, मंसिर १५, २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औ‌ं शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा सुरु भएको ‘एसिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भए पनि गरिबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले अन्तराष्ट्रिय व्यापार, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको धारणा पनि राख्नुभयो ।

उहाँले नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाह्य द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ भन्ने देखाएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले जनताका यी बलिया उपलब्धिमा टेकेर सामाजिक तथा आर्थिक प्रगति गर्न नसकिए दिगो नरहने भएकाले सरकारले दिगो आर्थिक विकासलाई प्राथमिकता दिएको र सरकारको कार्यसूची ‘सुखी नेपाली र समृद्ध नेपाल’ मा आधारित भई सामाजिक आर्थिक सङ्क्रमणतर्फ लक्षित भएको बताउनुभयो ।

त्यस्तै म्यान्मारकी स्टेट काउन्सिलर आङसाङ सुकीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिनुभयो । हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले शान्ति र विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन (युपिएफ) अन्तराष्ट्रिय अध्यक्ष डा थोमस जी वास्लले स्वागत गर्दै सम्मेलनले दिगो विकासका लक्ष्य र शान्ति तथा सहकार्यका लागि सन्देश दिने बताउनुभयो । सम्मेलनमा बिभिन्न मुलुकका राष्ट्ररसरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना सहभागी छन् ।