विवादित ‘शंकराचार्य’ गिरीलाई पशुपतिमा ठाउँ नदिएपछि पुग्ने भइन् डोलेश्वर

title
शनिबार, साउन २६, २०७५

काठमाडौं । विवादास्पद बन्दै गएकी ‘शंकराचार्य’ हेमानन्द गिरीको पशुपतिनाथ परिसरमा हुने भनिएको पदवी ग्रहण (रुद्राभिषेक) कार्यक्रम रोकिएको छ ।

अखिल भारत विद्धता परिषद्ले आफूलाई पशुपति मठको शंकरचार्य घोषणा गरेको गिरीको दाबी छ । उनले ८ भदौमा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम राखेकी थिइन् । उनलाई सुमार्गी भवन उपलब्ध नगराइने भएपनि उक्त कार्यक्रमा डोलेश्वरमा सारिएको छ ।

यस विषयमा गिरीले आफ्नो विषयमा गलत प्रचार गरेर आफ्नो बदनाम गर्न खोजेको गिरीको आरोप लगाएकी छिन् । उनले भनिन् ‘गलत सूचना र भम्रलाई सरकारले पनि पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ ।’

आफूले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरे पनि सम्भव नभएको उनले बताइन् । पर्यटनमन्त्रीलाई भेटेर आफ्ना कुराहरु राखिसकेको तर कुनै जवाफ नपाएको बताइन् ।

पशुपति विकास कोषले सुमार्गी भवनको ठेक्का लिएकाहरुलाई बोलाएर त्यो भवन हेमानन्दलाई नदिनू भनेर धम्क्याएको उनको दाबी छ ।

शनिबार पत्रकार सम्मेलन गरेर उनले थपिन्, ‘हामीले तयारी गरेको कार्यक्रमको स्थान परिवर्तन गरेका छौं । अब हाम्रो कार्यक्रम डोलेश्वर महादेव मन्दिर भक्तपुरमा हुनेछ । भारत, बंगलादेश, थाईल्याण्ड, युरोपका विशिष्ट व्यक्तिहरुको आगमन हुनेछ ।’