विश्वकप टि–२० एसिया छनोट, नेपाल र चीन भिड्दै

title
बुधबार, अशोज २४, २०७५

काठमाडौं । आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटको पाँचौ खेलमा नेपालले आज चीनको सामना गर्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

नेपालले यसअघिका चारै खेल सहजै जित दर्ता गरेको थियो । शीर्ष स्थानमा रहेको नेपाल ४ खेलमा ८ अंक छ । चीनले भने सबै खेलमा भारी अन्तरको पराजय भोगेको छ । चीन प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावना पनि समाप्त भइसकेको छ । यस्तो अवस्थामा नेपाल, सिंगापुर र मलेसिया अर्को चरणमा पुग्ने सम्भावना प्रबल छ ।

चीनको यसअघि खेलका नतिजा :
चीन ३५/९ (२० ओभर) विरुद्ध थाइल्याण्ड ३६/० (२.४ ओभर)
चीन ४५/१० विरुद्ध भुटान ४७/१ (३.५ ओभर)
चीन २६/१० विरुद्ध सिंगापुर ३०/० (२.३ ओभर)
चीन ४८/१० विरुद्ध म्यानमार ४९/२ (७.५ ओभर)

नेपालले अन्तिम खेलमा शुक्रबार सिंगापुरको सामना गर्नेछ । प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, चीन, सिंगापुर, भुटान, थाइल्यान्ड र म्यानमार रहेका छन् । प्रतियोगितामा नेपाल भन्दा अन्य टोली तुलानात्मक रुपमा कमजोर रहेका कारण त्यसको प्रत्यक्ष फाइदा नेपाले बटुलिरहेको छ । यस उप क्षेत्रबाट शीर्ष ३ टोली एसियाली क्षेत्रीय छनोट प्रतियोगिताका लागि छनोट हुने छन् ।

पूर्वी र पश्चिमी क्षेत्रको छनोटबाट छानिएका ३–३ देशले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् । यसअघि नै एसिया ‘ए’ उप–क्षेत्रबाट (पश्चिमी )युएई, कुवेत र कतार छनोट भैसकेका छन् । जसबाट उत्कृष्ट २ टिमले टि–२० बिश्वकपको ग्लोबल छनोट खेल्ने छन् । नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करन केसी, ललित भण्डारी, ललितनारायण राजबंशी, मोहमम्द आरिफ शेख, प्रदिप ऐरी, सन्दीप लामिछाने, शरद भेसावकर, सोमपाल कामी रहेका छन् ।