विश्वकप फुटबल : कस्ले कति पाउँछन् पुरस्कार

title
शुक्रबार, असार २९, २०७५

रूसमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र क्रोएसिया बीच प्रतिस्पर्धा हुदै छ ।

यी दुई टोली बीच कस्ले उपाधी चुम्ने हो ? यो भने जुलाई १५ मा हुने फाइनल खेलबाटै टुंगो लाग्नेछ । तर जुन राष्ट्रले विश्वपकको उपाधि चुम्छ त्यो राष्ट्रले ट्रफीसहित मोटो नगद पुरस्कार समेत हात पार्नेछ ।

विश्वकपको हरेक संस्करणमा पुरस्कार रकम परिवर्तन हुन्छ । विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा पुरस्कार राशि बढकोे छ । यसपटकको विश्वकप पुरस्कार राशि ४० करोड अमेरिकी डलर राखिएको छ । यसपटक रूस विश्वकपमा कुल पुरस्कार राशी मध्ये विश्वकप विजेताले १८ क्यारेट सुनले बनेको ट्रफीसँगै ३८ मिलियन अमेरिकी डलर अर्थात नेपाली ४ अर्वभन्दा बढी पुरस्कार हात पार्नेछ । यो रकम गत संस्करणको भन्दा ३ मिलियन बढी हो ।

सन् २०१४ को ब्राजिल विश्वकपको विजेताले ३५ मिलियन डलर प्राप्त गरेको थियो । त्यस्तै जारी विश्वकपमा दोस्रो हुने टिमले २८ मिलियन अमेरिकी डलर अर्थात नेपाली ३ अर्वभन्दा बढी पुरस्कार हात पार्नेछ ।

यसअघि ब्राजिल विश्वकपमा दोस्रो हुने टिमलाई फिफाले २५ मिलियन डलर प्रदान गरेको थियो । तेस्रो हुने टिमले २४ मिलियन डलर अर्थात नेपाली साढे २ अर्वभन्दा बढी हात पर्दा चौथो स्थानमा चित्त बुझाउने टोलीले २२ मिलियन अमेरिकी डलर अर्थात नेपाली २ अर्व ३७ करोड भन्दा बढी पुरस्कार पाउनेछ ।

त्यस्तै कुल ३२ राष्ट्र मध्ये क्वार्टरफाइनल अर्थात् अन्तिम आठमा पराजित चार टोली प्रत्यकले एक करोड ६० लाख अमेरिकी डलर अर्थात नेपाली मूल्य अनुसार डेढ अर्ब भन्दा बढी रकम पाउँनेछन् ।

त्यस्तै अन्तिम १६ मा पराजित हुने बाँकी आठ टोली प्रत्येकले एक करोड २० लाख अर्थात १ अर्ब २९ करोड रुपैंया पाउनेछन् । विश्वकपमा समूह चरणमा खेल्ने टिमलाई पनि फिफाले रित्तो हात घर फर्काउँदैन । समूहगत चरणमै रोकिने प्रत्येक टोलीले ८०÷८० लाख अमेरिकी डलर अर्थात नेपाली मूल्य अनुसार ८६ करोड भन्दा बढी प्राप्त गर्नेछन् ।

त्यस्तै, विश्वकप खेल्ने हरेक खेलाडीको १३४ मिलियन डलर बराबरको बिमा गरिएको हुन्छ ।